images

कर्णालीका महिलाको पीडा

प्रकाशित |
messi

काठमाडौं : नलगाड नगरपालिका-५ पोखरा, जाजरकोटकी शर्मिला कुसारी घरखर्च चलाउने पैसाको जोहो गर्न भारत आउजाउ गर्छिन्।

स्याउ टिप्ने समय आरम्भ भएपछि यसपालि आफन्तसँग भारत गएर घर फर्किएकी उनले चार महिनामा झन्डै ६० हजार रुपैयाँ कमाएर ल्याएको बताइन्।

तेह्र वर्षअघि कमाउन भारतको कालापहाड गएका उनका पतिको अहिलेसम्म केही अत्तोपत्तो छैन।

“छोराछोरी सानै छन्, साथ दिने अरू कोही छैन्,” उनी भन्छिन, “वर्षभरिको खर्च जुटाउन कालापहाड जान बाध्य भएँ।”

जिम्मेवारी थरीथरीका

सधैँ काममा खटिरहने उनको काँधमा चार छोराछोरीलाई पढाउने र पालनपोषण गर्ने जिम्मेवारी पनि छ।

खेतीपाती लगाएर कालापहाड जाने र भित्र्याउने बेला घर आउने गरेकी उनी जति दुःख र परिश्रम गरे पनि सुखका दिन नआएको गुनासो गर्छिन्।

आठबीस नगरपालिका दैलेखकी प्रमिलाकुमारी सिजापति बिहान भालेको डाँकोसँगै उठ्छिन्।

उठ्ने बित्तिकै दैलो पोत्ने, घरको सरसफाइ गर्ने, खाना पकाएर परिवारलाई खुवाउने, घाँसदाउरा गर्ने, दिउँसो गोठाला जाने आफ्नो दिनचर्या भएको उनी बताउँछिन्।

“एउटा काम सकेपछि पुरुषहरू डुलेरै दिन बिताउँछन्। तर हामी महिलालाई भने धेरै दुःख छ,” उनी भन्छिन्, “सुत्केरी र महिनावारी हुँदा समेत राम्रोसँग खान र आराम गर्न पाइँदैन।”

महिला

डोल्पा सर्मीकी उषाकुमारी सिंह कर्णालीका दुर्गम गाउँका महिला कामको बोझले थिचिएको गुनासो गर्छिन्।

“बिहान चार बजेदेखि राति १०-११ बजेसम्म काममा जोतिनुको विकल्प हुँदैन,” उनी भन्छिन्, “जस्तो दुःख भए पनि महिलाले काम नगरी सुखै पाउँदैनौँ।”

शर्मिला, प्रमिला र उषाजस्तै कर्णालीका दुर्गम गाउँका अधिकांश महिला कामको बोझले थिचिएको बताउँछन्।

चुल्होचौकोदेखि, गाईभैँसी दुहुने, खेतबारी खनजोत गर्ने जस्ता काम गर्न आफूहरू बाध्य भएको उनीहरू सुनाउँछन्।

पुरुषहरू कमाउन कालापहाड र वैदेशिक रोजगारीमा जाने भएकाले चुल्होचौकोदेखि खेतीपातीसम्मको काम धान्नुपर्ने बाध्यता उनीहरूको छ।

महिला

“महिलालाई दुःखले कहिल्यै छोडेन्,” जुनीचाँदे जाजरकोटकी ७४ वर्षीया जयकली खड्का भन्छिन, “हामीले हातपाखुरी चलाएनौँ भने घरव्यवहार पनि चल्दैन।”

पहिलेको भन्दा अहिले महिलाको दुःखमा कमी आएको अनुभूति गरेकी उनी मुसलले धान कुट्ने, कोलमा तेल पेल्ने, डोकोमा ग्रागी बोकेर पानी खाने दिन हराए पनि अरू दुःख भने ज्यूँका त्यूँ नै रहेको बताउँछिन्।

कर्णालीका गाउँबस्ती महिलामै निर्भर छन्। “जति काम गर्दा पनि सुखका दिन भेटिएनन्,” कर्णालीका महिलाहरू भन्छन्, “सुख कस्तो हुन्छ, अहिलेसम्म महसुस गर्न पाएका छैनौँ।”

बिरामी हुँदा राम्रा अस्पताल नगएको, गर्भवती, सुत्केरी र महिनावारीको अवस्थामा पनि जोखिमपूर्ण काम गर्नुपर्ने बाध्यता रहेको महिलाहरू गुनासो गर्छन्।

अकाल मृत्यु

“महिनावारी र सुत्केरी हुँदा आराम गर्नुपर्ने हो, तर त्यो बेला भान्सा नछुइने भएकोले झन् धेरै काम गर्नुपर्छ,” प्रमिला भन्छिन्, “गर्भवती हुँदा पनि कामै हुन्छ अनि सुत्केरी भएको १२-१३ दिनदेखि नै घाँसदाउरा नबोकी सुखै हुँदैन।”

“निधारमा नाम्लो र पिठ्यूँमा भारीले कहिल्यै छोडेन,” जाजरकोटकी रूपा खड्का भन्छिन्, “भालेको डाँकोसँगै राति अबेरसम्म काम नगरी हुँदैन। कति बेला आराम गर्नु र?”

उनी थप्छिन्, “काखको बच्चालाई बोकेर सकिनसकी घर धानेको कसैले देख्दैनन्, तर पुरुषले थोरै कमाएर ल्याए भने त्यो नै ठूलो देखिन्छ।”

महिला

घाँसदाउरा जाँदा रूख र भीरबाट लडेर कर्णालीका कतिपय महिलाले अकालमै ज्यान समेत गुमाएका छन्।

जोखिमपूर्ण काम गर्दा पाठेघर खस्ने, उच्च रक्तश्राव हुने, टाउको दुख्ने, ढाँड दुख्ने जस्ता समस्याबाट दुर्गम गाउँका महिलाहरू पीडित हुँदै आएको त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरू बताउँछन्।

“अन्नबाली लगाउने, गोडमेल गर्ने र भित्र्याउने बेला कामको बोझ झन् बढ्छ,” कालीकोटकी जन्मकला सिंह भन्छिन्, “पशुचौपाया नपाली मल हुँदैन, मल नहाले बाली लाग्दैन। बाली लागेन भने खान पाइँदैन। यी सबै काम महिलाले नै गर्नुपर्ने भएकोले धेरै दुःख छ।”

समान पीडा

गृहिणी हुन् या सरकारी सेवामा कार्यरत कर्णालीका महिला, सबैको दुःख र पीडा समान रहेको अन्नपूर्ण माध्यामिक विद्यालय डोल्पाकी शिक्षिका उषाकुमारी सिंह बताउँछिन्।

“जागिर खाए पनि चुल्होचौको गर्नैपर्छ, घाँसदाउरा काट्नैपर्छ, स्याउलासोत्तर ल्याउनैपर्छ, गोठाला पनि जानैपर्छ,” उनी भन्छिन्, “पहिला महिलाले हलो जोत्नु हुँदैन भनिन्थ्यो, तर अहिले महिलाले जोतेनन् भने खेतबारी बाँझै हुन्छ।”

कामको बोझ र सन्तुलित आहाराको अभावले बैँसमै बूढो देखिनुपर्ने अवस्था पनि रहेको कर्णालीका महिलाहरूको गुनासो छ।

महिला

महिलालाई आत्मनिर्भर र स्वावलम्बी बनाउन सरकारी तथा गैरसरकारी निकायले काम गरेको दाबी गरे पनि त्यस्ता कार्यक्रमले आफूहरूलाई नछोएको कतिपय महिला बताउँछन्।

उनीहरूका अनुसार कसले के गरिरहेको छ भन्ने थाहै हुँदैन। “जो आए पनि हाम्रा दुःख जहाँका त्यहीँ छन्,” उनीहरू भन्छन्।

कामको बोझ

कर्णालीका महिलाबारे पुस्तक लेखेकी जुम्लाकी लक्ष्मीकन्या बूढा अन्यत्रका भन्दा कर्णालीका महिलाको कामको ठूलो बोझ भएको बताउँछिन्।

महिलाले मात्र काम गर्नुपर्छ भन्ने पुरुषको मानसिकताले पनि महिलाहरूले झन् बढी दुःख पाएको उनको धारणा छ।

पुरुषको तुलनामा महिलाहरू दैनिक जीविकोपार्जन गर्न कडा श्रम गर्न बाध्य भएको उनी बताउँछिन्।

दुर्गम गाउँका अधिकांश महिलाले अहिलेसम्म गाडी चढेका छैनन् भने कतिपय बिरामी पर्दा डाक्टरको पनि अनुहार देख्न नपाएको गुनासो गर्छन्।

महिला

सुखदुःख जे भए पनि आफैँले झेल्नुपर्ने महिलाहरू बताउँछन्।

कर्णालीका दुर्गम गाउँका महिलाहरू सडक, पुल, खानेपानी योजनाका सामान बोक्नेदेखि अन्य जोखिमपूर्ण काम गर्दै आएको बताउँछन्।

उमेर नपुग्दै बिहे गर्ने अनि बुहारी बनेर घरको सम्पूर्ण काम गर्नुपर्ने अवस्थाले झन् दुःख थपिने त्यहाँको सामाजिक अवस्थामा अझै विद्यमान छ। बीबीसी नेपाली सेवाबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर