निमुखा दिन दुखीहरुलाई पहिलो प्राथमिकता दिएका छौँ ः अध्यक्ष लामा

3.7k Shares

सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका जिल्लाको सबै भन्दा विकट स्थानिय निकाय हो  । जिललको पश्चीम दक्षिणमा पर्ने स्थानिय नियका हरिहरपुरगढी गाउँपालिकामा ८ वटा  वडाहरु रहेका छन् । जनजाती समुदायको बाहुल्यता रहेको हरिहरपुरगढीमा तमाङ, मगर, माझी, दलित, ब्राम्हण÷क्षेत्री र पहरी समुदायका मानिसहरुको बसोबास रहेको छ ।  साविकको हरिहरपुरगढी, पिपलमाढी, महेन्द्रझ्याडी र क्यानेश्वर  गरी चारगाविस मिलेर हरिहरपुरगढी गाउँपालिका घोषणा भएको हो । उक्त गाँउपालिकामा २०७४ सालको स्थानीय निकायको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट कार्साङ लामा गाउँपालिका अध्यक्ष पदमा निर्वाचित हुनु भयो । नेकपा (माओवादी केन्द्र),नेकपा(एमाले) र नेपाली कांग्रेस गरी तीनै पार्टीबाट वडा अध्यक्षहरु निर्वाचीत हुनु भयो । गाउँपालिकाका जनप्रतिनिधहरु तीनै पार्टीका निर्वाचीत हुनु भएको भएपनि स्थानिय निकायमा तुलनात्मक हिसाबले मिलाएर चलाउन सफल हुनु भएका गाउँपालिका अध्यक्ष कार्साङ लामासंग कमलामाई मिडिया प्रालीले गरेको कुराकानीको संम्पादीत अंश ः


प्र.तपाई हरिहरपुरगढी गाँउपालिकाको अध्यक्षमा निर्वाचित भएपछि नागरिकले केके फरक अनुभुति गर्न पाए ?
म निर्वाचित भएर आई सकेपछि नागरिकले धेरै कुरा परिवर्तन भएको महसुस गरेका छन् । जनताको नजिकको सरकार, जनताको आँगनको सरकार, दुःखु सुखको सरकार भनेर जनप्रतिनिधि र जनता बीच सहकार्य, समझ्दारी भएको छ । जे पर्दा पनि तुरुन्त पुगि हाल्ने खालको सरकार भएको छ । जनताले पनि हिजोका दिनमा कर्मचारीबाट गरेको काम जनप्रतिनिधि मार्फत छिटो र छरितो तरिकाले गराउन पाउदा सजिलो ठानेको महसुस गरेका छन् ।
प्र.स्थानीय निकायको निर्वाचनको बेला जनता सामु गरेको के कती प्रतिबद्धता पुरा भए ?
हामीले निर्वाचनको समयमा सबै भन्दा बढी दुःख पाएका जनताको काम पहिलो प्राथमिकतामा गराउने भन्ने प्रतिवद्धता जनाएका थियौँ । त्यो कुरा जस्तै उदाहरणका लागि जसको खुट्टामा चप्पल छैन, त्यो मान्छेको कामलाई पहिलो प्राथमिकता दिएर गर्ने भन्ने थियो । दुःख पाएका सेवाग्राही, जस्ले चप्पल पनि लाउन सकेका छैनन् । काममा खाली खुट्टा हिड्ने सेवाग्राहीलाई प्राथकिता दिएका छौँ । सेवाग्राही धेरै हुन्छन् । दुःख पाएका, अल्प सङख्यक, दलित, एकल महिला र जेष्ठ नागरिकलाई प्राथमिकतामा राखेर काम गरेका छौँ ।
प्र.गाँउमै रोजगारीको अवसर सिर्जना गर्न के कस्ता काम गर्नु भयो ?
गाँउमा रोजगारीको अवसर सिर्जना गर्न सबै भन्दा पहिले सिपको आवश्यकता पर्छ । त्यसपछि अनुभवको पनि आवश्यकता पर्छ । त्यती मात्र नभएर आर्थिकको पनि आवश्यकता पर्दछ । त्यसलाई मध्य नजर राखेर बिशेष गरी यो पालिकामा पशुपालन, तरकारीबाली र अन्नबालीका तीन वटा पकेट क्षेत्र निर्धारण गरिएको छ । त्यसका लागि पालिकाले किसानहरुलाई तालिमको व्यवस्था गरेको छ । तालिम लिएर व्यवसाय सम्बन्धी धेरै ज्ञानका कुरा सिकेपछि आफ्नै गाँउठाँउमा व्यवसायिक रुपमा पशुपालन र खेती गर्न जनताले सुरु गरेका छन् । त्यसका लागि पालिकाले बिउ पूँजीको रुपमा यो बर्ष रु ६० लाख बजेट विनियोजन गरी ऋण लिन सक्ने व्यवस्था गरेको छ ।
प्र.गाँउपालिकालाई समृद्ध बनाउन कस्ता योजना ल्याउनु भयो ?
समृद्धिको लागि पहिलो आवश्यकता शिक्षा नै हो । शिक्षा, रोजगारी र आयआर्जन समृद्धिको एउटा पाटो हो । शिक्षासँग जोडिएको पशुपालन सम्बन्धी प्राविधिक उत्पादन गर्न हरिहरपुरगढी गाउँपालिका ८ क्यानेश्वर क्षेत्रमा लगानी भई रहेको छ । गत वर्ष शतप्रतिशत छात्रवृत्ति स्वरुप लगानी गरी पढ्न लगायौ, यो बर्ष ७५ प्रतिशत छात्रवृत्ति स्वरुप लगानी गरेर केही विद्यार्थीलाई पशु र कृषि सम्बन्धी प्राविधिक शिक्षा पढ्न लगाएका छौँ । प्राविधिक जनशक्ति गाँउघरमा नै उत्पादन गर्न प्राविधिक शिक्षामा लगानी गरेका छौँ । कृषि र आयआर्जनको क्षेत्रमा साना साना खोलाहरुबाट पानी पम्प गरेर सिंचाईको व्यवस्थाका लागि करिब ४० वटा  पम्पसेट नै वितरण गरि सकेका छौं । अहिले जहाँ विद्युत लाईन बिस्तार भई रहेको छ, ती ठाँउमा खोलाबाट पानी माथि लिफ्ट गरी तानेर सिंचाईको व्यवस्था गर्न सक्छौ ।
प्र.गाँउपालिकाले कस्ता योजनालाई प्राथमिकता दिएर काम गरि रहेको छ ?
गाँउपालिकाको पहिलो प्राथमिकता सडक नै हो । त्यसपछि कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य लगायत पर्दछन् । प्रत्येक वडाबाट पालिकासम्म जोड्ने सडकलाई प्राथमिकता दिएका छौं । मदन भण्डारी राजमार्गले चार वटा वडालाई छुन्छ । बाँकी चार वटा वडामा पालिकाको बजेटले वडा कार्यालयदेखि गाँउपालिकाको केन्द्रसम्म जोड्न ट्याक सडक खोलि सकेको छौं, अब स्तर उन्नती गरेर व्यवस्थित गर्न तिर लाग्ने छौं । पालिकाभित्र ठूला दुई वटा ग्रामीण सडक छन् । एउटा पिपलमाढी हुदै बागमती जाने र अर्को क्यानेश्वर हुदै हरिहरपुरगढी जोड्ने । दुबै सडकको काम भई रहेको छ ।
प्र.जनप्रतिनिधि भएर जनताको काम गर्दा के कस्ता समस्या र अवरोध झेल्नु परेको छ ?
त्यस्ता समस्या, अवरोध र अप्ठेराहरु प्रशस्तै छन् । हामी निर्वाचित भएर आउदा गाँउपालिकाको केन्द्रको टुङगो लागेको थिएन । केन्द्रको टुङगो लगाउन नै हामीलाई दुई बर्ष लाग्यो । मुद्धा प¥यो, साह्रा कुरा भयो । सबैको मन एउटै हुदैन । बल्ल बल्ल केन्द्र झनझनेमा स्थापित भई सकेपनि काम गर्न प्रशस्त भवन थिएन । एउटा सानो घरमा भाडामा बसेको थियौँ । कतिपय काम गर्न विधि, विधान र कार्य योजना नबनिरहेको अवस्था थियो । हामी प्रदेश र संघिय सरकार भन्दा अगाडी आएका थियौं । धेरै अप्ठेरो छ काम गर्न, अहिले पनि कर्मचारीको अभाव त छदैछ । त्यसमा पनि लामो समय कर्माचारीले चलाएको देश लामो समयपछि जनप्रतिनिधिहरु आउँदा केही समस्या त आईहाल्छन् नी ।
प्र.गाँउपालिकामा पर्यटकिय आकर्षण बढाउन के कस्ता कार्य गर्नु भएको छ ?
गाँउपालिकामा पर्यटकिय आकर्षण बढाउन काम सुरु गरेका छौं । हाम्रो पालिकाको नाम नै ऐतिहासिक हरिहरपुरगढी किल्लाबाटै नामाकरण भएको छ । त्यसलाई हाम्रो पर्यटकिय गन्तव्यको आधार बनाउने भनेर एउटा पर्यटन गन्तव्यको रुट क्लियर गरेका छौं । यता मकवानपुर तर्फबाट हरिहरपुरगढी हुदै वडा नं. ४ को लप्से पोखरी हुदै क्यानेश्वरको प्राकृतिक पोखरी कुण्डमा आएर टुङगिन्छ । पर्यटकहरु लगभग हाम्रै पालिकामा तीन दिनजति घुम्ने गरी रुट बनाएका छौं । वडा नं. ८ को धिमिले डाँडामा १४ घरमा तामाङ होमस्टे बनाउने तयारी भई रहेको छ । त्यस अनुसार पालिकाभित्र अन्य क्षेत्रलाई पनि समेटेर पूर्वाधारहरु बनाउदै छौं ।
प्र.अहिले कोरोनाको महामारी बढ्दो छ, त्यसलाई नियन्त्रण र रोकथाम गर्न पालिकामा कस्ता काम गर्नु भयो ?
यो अप्ठेरो अवस्थामा सबै पालिकाबासी अत्यावश्यक काम भन्दा बाहेक घर बाहिर घुमफिर नगर्न अनुरोध गरेका छौं । कोही बाहिरबाट आएका छन् भने जानकारी गराउन र होम क्वारेन्टाईनमा राख्ने काम भई रहेको छ।  हाम्रो धेरै नाकाहरु तराईको छिमेकी जिल्ला सर्लाहीसँग जोडिएका छन् । सर्लाही अति सङक्रमित भारतसँग जोडिएको हुनाले हाम्रो नाकामा निगरानी बढाएका छौं । कोही सङक्रमित भएर बिरामी भई आई हालेमा उद्धार गरेर उपचार गर्न क्यानेश्वरको क्वाटर भन्ने ठाँउमा १० बेडको आईसोलेसन भवन बनाएका छौं । त्यही लैजान्छौं । त्यसका लागि बाहिरबाट डाक्टर ल्याउने कुरा भई रहेको छ । तत्कालका लागि पालिकाको जिम्मामा रहेका पाँच जना स्वास्थ्यकर्मीलाई सेवा सुविधा बढाएर आईसोलेसनमा काम गर्ने व्यवस्था मिलाएका छौं ।
प्र.भौतिक पुर्वाधारका के कस्ता काम भएका छन् ?
नेवा संस्थाको साझेदारीमा गत बर्ष ११ वटा खानेपानीका योजना सम्पन्न ग¥यौ । यो बर्ष १५ वटा खानेपानीका योजना बनि रहेका छन् । गाँउपालिकाको आफ्नै स्रोतमा रु ६५ लाख को लागतमा भवन बन्दै छ । सबै वडा कार्यालयको भवन बनि रहेको छ । पाँच बेडको प्राथमिक स्वास्थ्य केन्द्रको भवन झ्याडीमा बनी रहेको छ । अर्को १५ बेडको पालिकास्तरको अस्पताल निर्माणका लागि तीन जना व्यक्तिले निःशुल्क १३ कठ्ठा जग्गा दिनु भएको छ । हामीले त्यसको डिपिआर बनाएर स्वीकृतीका लागि स्वास्थ्य मन्त्रालयमा पठाएका छौं । शिक्षा, सिंचाई लगायतका क्षेत्रमा पनि धेरै काम भएका छन् ।
प्र.वजेट परिचालनमा सङ्घिय सरकार र प्रदेश सरकारबाट के कस्ता सहयोग पाउनु भएको छ ?
वजेट वितरणमा विधि अनुसार आउने कुरा छ । सङ्घिय सरकार र प्रदेश सरकाबाट विधि अनुसार नै आँउछ । थप योजनाका लागि हाम्रो पँहुच नपुगेको अवस्था छ । बाँकी सङ्घियबाट छुट्टै, प्रदेशबाट छुट्टै बजेट आउने त्यस्तो केही छैन ।
प्र.अन्त्यमा गाँउपालिकाबासीलाई तपाईको भन्नु केही छ ?
कोभिडका कारण पालिकाका जनता अप्ठेरोमा परेका छन् भने सम्पर्क गरि दिनु होला । अप्ठेरो ठाँउमा फसेका, उद्धार गर्नु पर्ने छ भने पनि जानकारी गराउनु होला, कोभिडबाट विश्व नै आक्रान्त भएको बेला मानवले मानवलाई सहयोग गर्नु पर्दछ । आफु बाँचौ, अरुलाई पनि बचाऔं ।

सम्बन्धित समाचार