images

ज्ञानेन्द्र शाही कुटपिट घटनामा जाहेरी नै परेन :प्रहरी

प्रकाशित |
messi

चितवन : आफूलाई भ्रष्टचार विरोधी अभियान्ता बताउँदै हिँड्ने ज्ञानेन्द्र शाहीमाथि कुटपिट भएको पाँच दिनपछि चितवन प्रहरीले आफ्नो आधिकारिक जानकारी सार्वजनिक गरेको छ ।

चितवन प्रहरीले बिहीबार प्रेस विज्ञप्ती जारी गरेर उक्त घटनाको सम्बन्धमा सम्बद्ध पक्षबाट जाहेरी प्राप्त नभएको जानकारी गराएको छ।


‘जाहेरी प्राप्त नभएपनि घटनाको सत्यतथ्य छानबिनका लागि प्रहरी कार्यालय चितवनले अनुसन्धान टोली बनाइ घटनाको सम्बन्धमा गम्भीरतापूर्वक अनुसन्धान भइरहेको सबैमा जानकारी गराइन्छ’ चितवन प्रहरीको विज्ञप्तीमा उल्लेख छ। शाहीमाथि कुटपिटको घटना दिउँसै भएको थियो। घटनास्थलबाट चितवन जिल्ला प्रहरी कार्यालय नजिकै पर्छ।
शाहीमाथि आक्रमण हुँदै गरेका भिडियाहरु सार्वजनिक भएपनि प्रहरीले एकजना आक्रमणकारी पनि अहिलेसम्म समातेको छैन। चितवन प्रहरीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्ल भिडियो फुटेजहरुमा आक्रमण गर्नेहरु ६/७ जना देखिएपनि अनुहार कसैको नचिनिने बताउँछन्। प्रहरीले बिहीबार निकालेको विज्ञप्तीमा घटनास्थलमा प्रहरी पुग्नुअघि नै आक्रमणकारीहरु फरार रहेको उल्लेख छ। शाही सो होटलमा छन् भन्ने पूर्व सूचना प्रहरीलाई नभएको पनि विज्ञप्तीमा जनाइएको छ।के भएको थियो त्यस दिन?त्यसदिन चितवनमा शाहीको पूर्वनिर्धारित कार्यक्रम थियो। ‘नेपालका लागि नेपाली’ भन्ने संस्थामा आबद्ध रहेर उनी भ्रष्टाचार विरोधी अभिायनमा संलग्न छन्। अभियानका चितवन संयोजक भरत पोख्रेलका अनुसार कार्यक्रमका बारेमा प्रचार प्रसार र प्रशासनबाट स्वीकृति पनि लिइएको थियो।
‘तर सुरक्षाको कारण देखाएर प्रहरीले कार्यक्रम नगर भन्न थाल्यो। केही व्यक्तिहरु कार्यक्रम हुन दिनु हुँदैन भन्दै नारा लगाउन थाले। ब्यानर खोस्न थाले’ पोख्रेलले भने। उक्त ब्यानरमा ‘भ्रष्टाचार र विकृतिहरु विरुद्ध कार्यक्रम’ भनेर लेखिएको थियो। अवस्था असहज बनेपछि कार्यक्रम स्थगित भयो।
उक्त अभियानका सल्लाहकार दिलिप बस्नेतका अनुसार कार्यक्रम हुन नसकेपछि ग्लोबल होटलमा पत्रकार सम्मेलनको तयारी गरिएको थियो। ‘हामी पत्रकार सम्मेलनको तयारीमा थियौं। ज्ञानेन्द्र शाही जी गाडीबाट होटलमा आउँदै हुनुहुन्थ्यो। होटल छिरेपछि उहाँ नझर्दै बसमा नै एक्कासी आक्रमण भयो’ बस्नेतले भने।

शाही आउने भनेपछि एक समूह विरोधमा उत्रने तयारीमा थियो। ‘विरोधमा पनि कार्यक्रम हुने हामीलाई थाहा भयो। शाहीले पनि कार्यक्रम गर्दा झडपको सम्भावना बढ्ने देखेर कार्यक्रम नगर्दा राम्रो हुने सुझाव मात्र हामीले दिएको हो’ चितवन प्रहरीका प्रवक्ता डिएसपी एकनारायण कोइरालाले भने। शाहीको कार्यक्रमको विरोध गर्ने कुन समूह थियो भनेर प्रहरीले बताएको छैन।
घटनामा सत्तारुढ दल निकटका युवाहरुको हात रहेको अभियानमा संलग्न व्यक्तिहरुको आरोप छ। शाहीले भरतपुरमा दोस्रो पटक कार्यक्रम गर्न लाग्दै थिए। यसअघि भएको कार्यक्रममा उनले महानगरमा रहेको बेरुजुको प्रशंग उल्लेख गरेर आर्थिक अनियमिता भएको आरोप लगाएका थिए।
केही दिनअघि नेपालगन्ज विमानस्थलमा पर्यटनमन्त्री योगेश भट्टराईका कारणले विमान समयमा नै नउडेपछि शाही लगायतले प्रतिवाद गरे।
यस्ता कारणहरुले सत्तारुढ दल निकटका व्यक्तिहरु शाही प्रति रुष्ट देखिन्थे। भरतपुरको घटनामा तत्कालीन माओवादी निकटको युवा संगठन वाईसीएलको हात रहेको चर्चा पनि निकै नै चलेको छ। तर वाईसीएल चितवनका इन्चार्ज मधु न्यौपाने घटनामा आफ्नो संगठनको संलग्नता नरहेको बताउँदै उनले गणतन्त्र प्रेमी युवाहरुले आक्रमण गरेको बताए।
‘हाम्रो संगठन त्यसरी व्यक्तिमाथि आक्रमण गर्न उत्रदैन। तर ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्नेहरु गणतन्त्र पक्षधरहरु हुन। किन कि शाही गणतन्त्रका विरुद्ध लागेका छन्। शाहीको त्यो कदम मन नपराउनेहरुले उनलाई आक्रमण गरे होलान्’ न्यौपानेले भने।

ज्ञानेन्द्र शाहीमाथि कुटपिट भएपछि नेपाली कांग्रेस चितवनले तत्कालै विज्ञप्ती निकालेर ‘नागरिकको आवाजलाई हिंसात्मक ढंगबाट सत्ता र शक्तिको आडमा दमन गर्न खोजेको’ टिप्पणी गरेको छ। यो घटनाका विषयमा सत्तारुढ नेकपाले विज्ञप्ती निकालेन। ज्ञानेन्द्र शाहीमाथि आक्रमण भएपछि सामाजिक सञ्जालहरुमा भरतपुरका मेयर रेनु दाहाल लक्षित आपत्तिजनक पोष्टहरु भए। यस्तो सामाग्री पोष्ट गर्नेलाई कराबाही हुनुपर्ने माग भने नेकपाले गरेको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा बिनु सुवेदीले लेखेकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर