images

घर बसेर नागरिकता पाईदैन

नागरिकता लिन आन्दोलन गर्नैपर्ने

प्रकाशित |
messi

विराटनगर : नेपाली नागरिक हुँदाहुँदै पनि नागरिकता प्राप्त गर्न नसकेका आम नागरिकहरु आक्रोशित भएका छन ।

नागरिकता वितरण सुरु गर्ने र फेरि बन्द गर्ने प्रक्रियाले दिक्क मानेका नागरिकहरुलाई गाँस, बाँस, कपास, शिक्षा र स्वास्थ्य लगायतका आधारभुत आवश्यकता समेत परिपुर्ती गर्न कठिनाई हुँदा उनीहरु आक्रोशित भएका हुन । जीवनयापन र हक तथा अधिकार प्राप्तिको अभिन्न अङ्ग बन्दै गएको नागरिकता विद्येयक हालसम्म संसदमा विचाराधीन अवस्थामा छ । सोही कारणले सम्पुर्ण प्रमाण हुँदाहुँदै पनि अधिकांश नेपाली नागरिक नागरिकताबाट बञ्चित छन । नेपालको राजनीतिक अस्थिरता र अव्यवस्थित शासन पद्धतिले निरन्तर शास्ती खेपिरहेका आम जनता भने अब अधिकार नपाए अधिकार खोस्ने रणनितिमा देखिन्छन ।

२०७५ साल चैत १९ गते गृह मन्त्रालयले जन्मसिद्धका नागरिकका सन्तानलाई आवश्यक सम्पुर्ण प्रमाण भए नागरिकता दिनु भनी परिपत्र गरेको थियो । परिपत्र भए लगत्तै मोरङमा २९ हजार ८ सय ९६ जना जन्मसिद्ध नेपाली नागरिकका सन्तानहरुले वंशजका आधारमा नागरिकता प्राप्त गरेका थिए । तर अचानक सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले नागरिकता वितरणको परिपत्र रोक्न अन्तरिम आदेश दिएको थियो । चैत २५ को उक्त आदेशलाई सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले खारेज गरेपछि बैशाख ४ गतेदेखि फेरी नागरिकता वितरणको बाटो खुलेको थियो । तर पुनः बैशाख १३ गते जितेन्द्र नारायण देव नेतृत्वको एक सदस्यीय समिति मातहतका नागरिकता वितरण टोलीले २०५४ सालमा वितरण गरेका सबै नागरिकता खारेज गर्न र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले त्यतिबेला नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता नदिन आदेश पनि दिएपछी आम नेपाली नागरिकहरुले नागरिकता पाउने बाटो पुनः बन्द भएको हो । नेपालको यस्तो अस्तव्यस्त कानुनी प्रक्रिया र राज्य व्यवस्थाबाट दिक्क मानेका नागरिकले आफ्ना आधारभुत आवश्यकता समेत पूरा गर्न सकेका छैनन् ।

नागरिकताबाट बञ्चित विराटनगर ५ का २४ बर्षीय असद शेखले घरपरिवारको सम्पुर्ण जिम्मेवारी आफुमाथी रहेको र नागरिकता नभएकै कारण राम्रो जागिर पाउन नसकेको बताए । उनले नागरिकता अभावकै कारण वैदेशिक रोजगारको राम्रो अवसर समेत गुमाएको गुनासो गरे । उनले सरकारले हाम्रो भबिष्यसँग खेलवाड गरिरहेको बताए ।

बिशेष गरी नेपालमा नागरिकता सम्बन्धी कानुन अपुर्ण, अस्पष्ट र निकै नै जटिल रहेको कारणले गर्दा अधिकांश नेपाली जनता मारमा परेका छन । वि.सं. २०७५ चैत १९ गते गृह मन्त्रालयले परिपत्र गरिसक्दा पनि नागरिकता प्राप्त गर्न धेरै समस्याहरु झेल्नुपरेको विराटनगर १५ निवासी गुड्डु कुमार सिंहले बताए । उनले नागरिकता पिडित संघर्ष समितिको आन्दोलनबाट नैै मोरङमा धेरैले नागरिकता प्राप्त गरेको उल्लेख गरे । सरकारले नेपालको संविधान र कानुनी व्यवस्थाको पालना नै नगरेपछि विभिन्न आन्दोलन रुपी समस्याहरु पार गर्दै आफुले पनि २० बर्षको उमेरमा नागरिकता प्राप्त गरेको उनको भनाई छ ।

यता नागरिकता पीडित संघर्ष समिति मोरङ्गले पनि २०७५ सालसम्म वंशजको आधारमा नागरिकता दिने बाटो नखुलेसम्म विभिन्न चरणका आन्दोलन गर्यो । लगत्तै गृह मन्त्रालयको आदेशानुरुप केही समयका लागि नागरिकता वितरणको बाटो खुल्यो र केही नागरिकले नागरिकता पनि प्राप्त गरे । तर त्यसपछि उक्त संघर्ष भने मौन भई आफनो जिम्मेवारीबाट पञ्छिन खोजेको देखिन्छ । स्थानीय सर्वसाधारणले भने उक्त संघर्ष समितिका अध्यक्ष ईशान खानले पनि चैत १९ गतेको परिपत्रपछि नागरिक प्राप्त गरिसकेको हुनाले अब आफ्नो जिम्मेवारीबाट पछि सरेकोे आरोप लगाउँदै आएका छन ।

सम्बन्धित बिषयमा बोल्दै नागरिकता पिडित संघर्ष समितिका अध्यक्ष ईशान खानले उहाँमाथि लगाईएको आरोप एउटा विचारधारा मात्रै भएको धारणा व्यक्त गर्नुभयो । उहाँले केही समयका लागि भएपनि नागरिकता खुल्नु र हजारौं नागरिकले नागरिकता पाउनुमा नागरिक पिडित संघर्ष समितिका साथसाथै देशभरिका विभिन्न तह र संघसंस्थाहरुको पनि उत्तिकै महत्वपूर्ण भुमिका रहेको जानकारी दिनुभयो । उहाँले आफुले पनि ७ बर्षको संघर्ष पश्चात् मात्रै नागरिक प्राप्त गरेको जानकारी दिँदै अब नेपालमा घरमा बसेर नागरिकता वन अन्य कुनै पनि अधिकार प्राप्त गर्न नसकिने प्रष्ट पार्नुभयो । उहाँले अब नेपालमा नागरिकता लगायतका अन्य अधिकार प्राप्तिका लागी आन्दोलन गर्नैपर्ने स्थितिको सिर्जना भएको बताउनुभयो । उहाँले वर्तमान सरकार लगायता सम्पुर्ण राजनितिक पार्टीहरुले नागरिकता संशोधन २०७५ विद्येयक राजनीतिक स्वार्थकै कारण संसदमा विचाराधीन बनाएर राखेको आरोप लगाउनुभएको छ । उहाँले नागरिकसम्बन्धी सबै दोष सरकारकै रहेको भन्दै अब नागरिक पीडित संघर्ष समिती पुनः आन्दोलन उत्रिने चेतावनी समेत दिनुभएको छ ।

आर्थिक वर्ष २०७५–०७६ मा मोरङमा २९ हजार ८ सय ९६ जनाले वंशजको आधारमा नागरिकता प्राप्त गरेका छन भने १४ हजार ४९ जनाले प्रतिलिपी र १ हजार १ सय ११ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् । तर अहिले पनि अधिकांश नेपाली जनता नागरिकताबाट बञ्चित छन । देशकै ठुलो समस्या बन्दै गएकोे नागरिकताको बिषयप्रति भने कसैको ध्यानाकर्षण हुन सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर