अनुयायीलाई यौन हिंसा गरेको आरोप लागेर पक्राउ परेका बम्जन पुर्पक्षका लागि कारागार चलान

246 Shares

अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामलाल बम्जन(बहादुर)लाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत सर्लाहीले आदेश दिएको छ।कुनैबेला“लिटल बुद्ध”उपनामले चिनिएका बम्जनलाई प्रहरीले मंगलबार काठमाण्डौँको बुढानिलकण्ठ नगरपालिका ६ स्थित हात्तीगौडाबाट नियन्त्रणमा लिएर बुधबार सार्वजनिक गरि सर्लाही प्रहरीलाई जिम्मा लगाएको थियो ।
बम्जनविरूद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले मंगलबार साँझ करिब साढे ७ बजे बुढानिलकण्ठ नगरपालिका ६ हात्तीगौडास्थित आफ्नै घरबाट उनलाई पक्राउ गरेको थियो।त्यसपछि सर्लाही प्रहरीलाई बुझाएको र सर्लाही प्रहरीले बिहीबार जिल्ला अदालतमा पेश गरेपछि प्रतिवादी बम्जनका तर्फबाट पाँच जना र वादीको तर्फबाट दुई जना सरकारी वकिलले बहस गरेका र उनलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश भएको अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।
प्रहरीका अनुसार बम्जन दुई महिनादेखि आफ्नी श्रीमती र परिवारसहित काठमाडौंमा बस्दै आएका थिए।बम्जन बसेको घरमा खानतलासी गरिएको र रु तीन करोड तीन लाख तथा करिब रु ३० लाख ९२ हजार बराबरको १७ वटा अन्य देशको मुद्रा बरामद भएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जनाएको छ ।बरामद भएको मुद्राको स्रोतबारे अनुसन्धान भइरहेको सिआईबीले जनाएको छ। नेपाली र विदेशी मुद्रा घरमा भएको शेफमा फेला परेको प्रहरीको दाबी छ। प्रहरीले शेफ खोलेर बरामद भएका नोट गणना गरेको थियो।
बम्जनले विभिन्न जिल्लामा आफ्ना आश्रमहरू सञ्चालन गरेका थिए।सिन्धुपाल्चोकको बाँडेगाउँबाट तीन जना र निजगढबाट एक जना हराइरहेको विवरण सार्वजनिक भएको थिए। प्रहरीका अनुसार बम्जनको साथबाट दुई वटा महँगा गाडी समेत बरामद भएका छन् साथै उनले रु पाँच करोड मूल्य पर्ने एउटा नयाँ गाडी बुक गरेका र त्यसका लागि रु तीन करोड नगद नै भुक्तानी दिइसकेको प्रहरीले जनाएको छ ।
उनले हाल अर्का एक जना व्यक्तिको नाममा रहेको विलासी गाडी चढ्ने गरेको पाइएको प्रहरीले जनाएको छ।उनको साथबाट प्रहरीले विभिन्न ब्रान्डका १४ वटा मोबाइलहरू,पाँच वटा आइप्याड र ट्याबहरू,ल्यापटप र २० वटा पेनड्राइभ सहितका उपकरण बरामद भएको जनाएको छ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले बम्जनविरुद्ध सर्लाही अदालतमा विचाराधीन रहेको बालयौन दुराचारको मुद्दासहित अन्य कसुरहरूमा पनि अनुसन्धान हुने जनाएको छ।
प्रहरीले विभिन्न आश्रमहरूबाट कम्तीमा पाँच जना हराइरहेको भन्ने उजुरी आएको र त्यसबारे पनि अनुसन्धान हुने जनाएको छ।प्रहरीका अनुसार बम्जनविरुद्ध पाँच जनालाई बेपत्ता बनाएको, एक जनाको हत्या गरेको र एक अनुयायीमाथि यौन हिंसा गरेको उजुरी छ।बाराको एउटा एकान्त वनमा ठूलो पीपलको बोटमुनि ध्यान गरिरहेका कलिला बम्जन सन् २००५ मा एकाएक चर्चाको चुलीमा पुगेका थिए।त्यतिबेला १६ वर्षीय बम्जनले जंगलमा ध्यान गर्न सुरु गरेका थिए तर पछि उनको नाम विभिन्न विवादमा मुछिन थाल्यो।
पाँच वर्षअघि सिन्धुपाल्चोकस्थित उनको आश्रममा गएका केही“अनुयायी” त्यहाँबाट नफर्किएका भन्ने विवरणसहित विभिन्न जिल्ला प्रहरी कार्यालयहरुमा परेका उजुरीमा प्रहरीले छानबिन थालेको थियो। त्योसँगै सिन्धुपाल्चोकको बाँडेगाउँ र सर्लाहीको लालबन्दी नगरपालिका १२ पत्थरकोटामा रहेको आश्रम सिलबन्दी गरेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।विसं २०७१ चैत १४ गतेदेखि सम्पर्कविहीन एक व्यक्तिको परिवारले किटानी जाहेरी दिएपछि प्रहरीले बम्जनको आश्रममा अनुसन्धान थालेको थियो।सर्लाही जिल्ला अदालतले बम्जनलाई पक्राउ गर्न अनुमति दिएपछि उनको खोजी तीव्र पारिएको थियो।
बम्जनआबद्ध संस्थाको वेबसाइट मैत्रीय डट इन्फोमा उपलब्ध जानकारी अनुसार उनको जन्म सन् १९९० को अप्रिल १० तारिखमा बाराको निजगढ नगरपालिका स्थित रतनपुरमा भएको थियो।उनका मातापिता किसान थिए। उनकी आमाको १२ वर्षको उमेरमा विवाह भएको थियो। उनका आमाबुवाका नौ सन्तान छन्।उनी साहिँला छोरा हुन्।
उनले कलिलो उमेरमै ध्यानमा मग्न भएर सबैलाई आश्चर्यचकित बनाएको बताइन्छ।“उनी गर्भमा हुँदा उनकी आमालाई माछामासु खान मन लागेको थिएन र पछि बम्जनले पनि मासु खाएनन्। उनी सानो उमेरदेखि नै लामो समयसम्म घरबाहिर जाने गर्थे,”वेबसाइटमा उल्लेख गरिएको छ।सन् २००५ मा बीबीसीसँगको कुराकानीमा उनका परिवार,साथीभाइ र अनुयायीले बम्जन ६ महिनासम्म पानी पनि नपिई ध्यानमा लीन भएको दाबी गरेका थिए। उक्त विवरणका अनुसार गौतम बुद्ध र बम्जन दुवैका आमाको नाम मायादेवी भएकाले स्थानीयवासीहरूले उनले गरेको तपस्यालाई सिद्धार्थ गौतम बुद्धसँग जोडेर हेरेका थिए।उनलाई खासगरी केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले“लिटल बुद्ध”को उपनाम दिएका थिए।तपस्या गर्ने क्रममा उनी बीचबीचमा हराउने र केही समयपछि फेला पर्ने क्रम चलिरह्यो। सोह्र वर्षको उमेरमा तपस्या गर्न सुरु गरेका बम्जन पहिलो पटक १० महिना लामो ध्यान बसेकै बेला अचानक सम्पर्कविहीन भएको बताइन्छ।ध्यानमा रुचि र बुद्धसँगको तुलनाका कारण उनी बसेको स्थान आसपास उनलाई हेर्न मात्र आउने आगन्तुक र भक्तजनहरूको भिड लाग्ने लाग्थाल्यो ।अनुयायीहरूले धार्मिक ध्वजापताका चढाउन थालेपछि उक्त स्थान बिस्तारै धार्मिक स्थलमा परिणत हुँदै गयो।
नेपालमा मात्र नभएर विश्वव्यापी रूपमै चर्चा बटुल्न सफल उनी यति चर्चित भए कि उनले निकै कम समयमा सामान्य बुद्धभक्तबाट चर्चित तपस्वीको भेष धारण गरे। देशका विभिन्न ठाउँहरूमा आश्रम खोले र नेपालभित्र र बाहिर आफ्ना अनुयायीहरूको संख्या समेत क्रमिक रूपमा बढाउँदै लगेको पाइन्छ। प्रहरीमा उनकै अनुयायीहरुले उजुरी दिएपछि प्रहरीले फरार सुचिमा राखेर खोजी रहेका बम्जन लामो समयदेखि फरार रहँदै आएका थिए।प्रहरीको टोली पटक पटक उनको आश्रममा पनि पुग्ने गरेको भएपनि बम्जनलाई पत्ता लगाउन र पक्राउ गर्न सकेको थिएन। तर यस पटक उनी पक्राउ मात्र नभई पुर्पक्षका लागि कारागार नै चलान भएका छन् ।

सम्बन्धित समाचार