images

चितवनको प्रतिद्वन्द्वी काठमाडौं, फाइनल बिहीबार

प्रकाशित |
messi

काठमाडौं : महिला च्याम्पियन्स लिग (डब्लूसीएल) टीट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि चितवन राइनोजले क्याट क्विन्स काठमाडौंसँग भिडन्त गर्ने भएको छ। मंगलबार भएको इलिमिनेटर खेलमा विराटनगर टाइटन्सलाई नौ विकेटले हराउँदै काठमाडौं फाइनलमा पुगेको हो। चितवन भने यसअघि नै लिग लिडर बन्दै प्रतियोगिताको फाइनलमा पुगेको थियो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङको निर्णय लिएको विराटनगरले १७.३ ओभरमै अलआउट हुनुअघि ६८ रनमात्र बनाउन सक्यो। काठमाडौंविरुद्घ विराटनगरको ब्याटिङ खासै चल्न सकेन। विराटनगरका तीन खेलाडीले मात्र दोहोरो संख्यामा रन बनाउन सके। ओपनर सोनु खड्काले सर्वाधिक ३४ रन जोडिन्। उनले २५ बलको सामना गरी ६ चौका पनि प्रहार गरिन्।

ओपनिङ विकेटका लागि सोनु र ज्योति पाण्डेले ४४ रनको साझेदारी गरे। ज्योतिले २० बलमा दुई चौकाको मद्दतले १२ रन बनाइन्। आरती बिडारीले २२ बलको सामना गरी ११ रन बटुलिन्। अन्य खेलाडीले दोहोरो संख्यामा रन बनाउन सकेनन्। लक्ष्मी चौधरी, कप्तान सरिता मगर र शर्मिला मगर दुई÷दुई रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्किए।

विराटनगरका तीन खेलाडीले भने खातासम्म खोल्न सकेनन्। काठमाडौंकी बलर रुबिना क्षेत्री सफल ठहरिइन्। उनले चार ओभरमा एक मेडन राख्दै केवल चार रन खर्चिएर चार विकेट लिइन्। इश्वरी बिष्ट, संगिता राई र लक्ष्मी साउदले पनि एक÷एक विकेट हात पारे। विराटनगरका तीन खेलाडी रनआउट भएका थिए।

जवाफी ब्याटिङमा ओर्लिएको काठमाडौंले ९.५ ओभरमै केवल एक विकेट गुमाएर ७० रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो। ब्याटिङतर्फ पनि रुबिनाले उत्कृष्ट प्रदर्शन गरिन्। कप्तानको भूमिकासमेत निर्वाह गरेकी रुबिनाले अविजित ३४ रन बनाइन्। उनले ३० बलको सामना गरी ६ चौका पनि हिर्काइन्। सोही योगदानका कारण प्लेयर अफ दी म्याचको पुरस्कार पनि रुबिनाले नै हात पारिन्।

टोलीको खाता खुल्नुअघि नै ओपनर रोमा थापा पेभेलियन फर्किएकी थिइन्। त्यसपछि रुबिना र अप्सरी बेगमले टोलीलाई विजय लक्ष्यसम्म पुर्‍याएका थिए। अप्सरीले अविजित २७ रनको योगदान गरिन्। उनले २८ बलको सामना गरी तीन चौका हिर्काइन्। विराटनगरका लागि एकमात्र विकेट सोनु खड्काले लिएकी थिइन्। प्रतियोगिताको फाइनल खेल बिहीबार खेलिने छ। यो समाचार आजको अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर