images

डोम जाति समाजको अभिन्न अंग हो : गीतकार प्रेमर्षी

प्रकाशित |
messi

हमरे डाला पनपथिया सँ,

देबतो पितर पूजाई छै।

कहु यौ बाबु तैयो हमर

देहिन किया छुवाई छै।।

मेहेनत हमर चलै छै सगरो,

मुद्दा चलए नहि पानि यौ,मुद्दा चलए नहि पानि यौ ...


यो डोम जातीमाथि भइरहेको सामाजिक विभेदलाई अन्तय गर्न गीतकार धीरेन्द्र प्रेमर्षीको शब्दमा , गायक रामा मण्डल र गायीका रूपा झाले गाएको मैथिली भाषाको गीत हो।  

डोमहरूको तत्कालीन परिस्थितिलाई इंगित गर्दै उनले यो गीत गाएका थिए। राजतन्त्र हुँदै देश गणतन्त्रमा आइसकेर तन्त्र त फेरियो तर, डोम जाति अझै पनि छुवाछुतबाट बाहीर आउन सकेको छैन् । गीतमा भनिएको छ, ‘मेरै डाला ढाँकीले इश्वर पूजिन्छ, तर पनि मेरो जीउ किन छोइन्छ। मेहेनत मेरो सबै ठाउँमा चल्छ, तर पानी मेरो किन चल्दैन । 
अहिले मधेश छठमय भएको छ । डोम जाति बासको चोयाले डाला, सुपली, पनपथिया बुन्न व्यस्त देखिन्छ । छठमा सूर्यलाई अर्घ दिन डोम जातीले बनाएका बाँसका सामग्रीहरुको प्रशस्ते प्रयोग हुनेगरेको छ । 
महोत्तरीको सुन्दरपुरका स्नेही मल्ल्कि डोमलाई छठ पर्वले पुरै व्यस्त बनाएको छ। गौशाला बजारमा बाँसका सामग्री बिक्री गर्न बिहीबार उनलाई भ्याइ–नभ्याइ भएको थियो।

माग बढी भएकाले घरबाट बनाएर ल्याएका एक सय बढी डाला, सुपली, पनपथिया एकैछिनमा बिक्री भएको देख्दा उनी छक्क परिन । उनकी पत्नी देवकी बिक्री गर्न पसल राखिएकै ठाउँमा बासका सामग्री बनाउन व्यस्त भएको देखिन थिइन् । तीनै डोमले बनाएको बासको सामग्रीले देवता पूजिन्छ। गाउँमा मान्छे बिते, जलाउन गाउँलेहरूले डोमबाट आगो किन्ने परम्परा चलिआएको छ। समाजमा गरिने छुवाछुतको व्यवहारले चार दशकदेखि स्नेही पिरोलिँदै आएका छन्। ‘गाउँमा श्रम, सीप र मेहेनत चल्छ। तर छोएको पानी चल्दैन,’ स्नेही भन्छन्। जनकपुरधामबाट ५ किलोमिटर पूर्व धनुषाको हंसपुर नगरपालिका–३ कठपुल्ला पर्छ। जहाँ दुई सय घरधुरी डोम बसोबास गर्छन्। ‘मानिसले नछोए पनि केही छैन। तर छठी मैयालाई हामीले बनाएकै सामग्रीले पूजा गरिन्छ’, उनले भने। डोमले बनाएको पवित्र डाला, सुपलीमा अर्घ दिए छठ निष्ठापूर्वक गरेको विश्वास दश्कौ देखि चलिआएको छ । ‘हाम्रै हातको आगोले दाहसंस्कार गर्दा पुण्य हुन्छ। तर मानिस हामीलाई छुन पनि हिच्कचाउँछन्’, ५५ वर्षीय देवा मल्लिक डोम भन्छन्।

तथ्यांकको आधारमा मधेशको अल्पसंख्यक जातिको सूचीमा पर्छ डोम । प्लास्टिकले छाएको सानो छाप्रोमा उनीहरूले हिउँद बर्खा कटाउँदै आइरहेका छन्। बर्खामा घर चुहिएर हैरानी हुन्छ। गर्मीमा आगलागी हुने डरले निन्द«ा हराउँछ । ‘हावाहुरीले घर उडाउला भन्ने त्रास सँधै हुन्छ’, देवाका छोरा विजयले भने, ‘सरकारले घर बनाइदिए हुन्थ्यो । भोकै भए पनि आरामले सुत्न त पाइन्थ्यो।’बजारमा प्लास्टिकका सामग्री आएदेखि बाँसका सामग्री बिक्री हुन छाडेको गौशालाकी पुनम मल्लिक बताउँछिन् । उनले भनिन्, ‘चार्ड पर्वबाहेक अरूबेला बाँसका सामग्री नै बिक्दैनन्।’ जातिय विभेद गर्नेलाई कडा कारबाही गर्नुपर्ने दलित अधिकारकर्मी सन्त परियारको माग रहेको छ। ‘मन्दिरमा कुकुरलाई पनि निषेध गरिँदैन। तर हामी कथित तल्लो जातिका मानिसलाई पस्न दिइँदैन’, उनले भने,‘जातीय विभेद गर्नेलाई ज्यान मार्ने सरह कारबाही गर्ने कानुन बनाउनुपर्छ,आवश्यक छ ।’

मिथिला संस्कृतिका जानकार धीरेन्द्र पे्रमर्षीले डोम जाति समाजको अभिन्न अंग रहेको बताए। ‘कलात्मक बाँसको सामग्री बनाउँछन्, उनीहरू इन्जिनियर नै हुन्’, उनले थपे, ‘उनीहरूले बनाएको सामग्रीबाटै दैनिकी चल्छ। यति ठूलो काम गर्नेलाई विभेद गर्नु व्यवहारिक होइन।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर